काठमाडौं । समाजवादी मोर्चाको धनगढीमा आज हुने भनिएको सन्देश सभा स्थगित भएको छ ।
अमेरिकन सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को औपचारिक कार्यान्वयन हुने दिनमा आयोजना गरिएको सो सभा अन्तिम समयमा स्थगित गरिएको हो ।
एमसीसी परियोजनाका बारेमा समाजवादी मोर्चाको एउटै सभावाट भिन्न भिन्न बिचार आएपछि आजको सभा स्थगित गरिएको स्रोतले उल्लेख गरेको छ ।
सन्देश सभामा एमसीसी परियोजनाका बारेमा केही न केही नेताले बोल्ने र सो सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि ‘साक्षी’ हुने भए पछि कुटनीतिक असर पर्ने भन्दै सभा स्थगित गरिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले जानकारी दिए ।
साथै, बिप्लव नेतृत्वको नेकपासहित चार दलले आजै काठमाडौंमा एमसीसी कार्यान्वयनको बिरोधमा माइतीघरमा बिरोध प्रदर्शनसमेत गर्दैछ । जसका कारण पनि सो सभा स्थगित गर्नु परेको जनाइएको छ ।
सुदूरपश्चिम प्रदेशमा हुने सो सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड सहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने तय भएको थियो ।
एमसीसी कार्यान्वयनमा सरकार जाने भएपछि आफूहरू सँगै सभामा जान नसक्ने समाजवादी मोर्चाको एक घटक विप्लव नेकपाले बताएपछि आजको सभा स्थगित भएको एक नेताले बताए ।
समाजवादी मोर्चामा रहेका अन्य दल भने १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले मान्यता दिने वा कसरी लिने भन्ने पक्षमा रहेको बताउँदै आएका छन् । प्रधानमन्त्री प्रचण्डले स्वयम् पनि हिजो मात्र व्याख्यात्मक घोषणाका बारेमा आफूले कुरा राख्ने बताउनु भएको थियो । यता विप्लव नेतृत्वको अर्को दल भने एमसीसी सहयोग खारेज नै हुनुपर्ने पक्षमा छ । समाजवादी मोर्चाभित्रकै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि एमसीसी सहयोगको विपक्षमा उभिएका छन् । यसका कारण समाजवादी मोर्चामा असन्तुष्टि बढेको हो ।
सो मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने पुर्व घोषणा अनुरुप आज सुदुरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरिएको थियो ।




















