काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेकाले देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार आगामी शुक्रबारसम्म देशभर कतै भारी वर्षाको सम्भावना छैन ।
मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र देशका बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
मौसमविद् अधिकारीका अनुसार आज काठमाडौं उपत्यकाको मौसम सामान्य बदली र अपराह्नतिर हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।




















