काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदसँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको तयारी भइरहेका बेला उनीहरूबीच मंगलबार सिंहदरवारमा भेटवार्ता भएको हो । उनीहरूबीच करिब ४५ मिनेट प्रधानमन्त्रीको भ्रमण र एजेण्डाबारे सघन छलफल भएको थियो ।
अमेरिकी परियोजना एमसीसी कार्यान्वयनका लागि उपाध्यक्ष क्यामरन एस अलफोर्ड काठमाडौं आएका बेला चिनियाँ राजदूत सोङले परराष्ट्रमन्त्रीलाई भेटेका हुन् । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर अमेरिकाको न्युयोर्कबाट सिधै चीन जानेछन् ।
प्रधानमन्त्री दाहालको भ्रमणका बेला चीनले बीआरआई परियोजना कार्यान्वयन गर्ने विषय प्राथमिकतामा राखेको छ । सोही विषयमा छलफल गर्न राजदूत सोङले परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्रीको भ्रमणका बेला चीनले बिआरआई परियोजना कार्यान्वयनका लागि दाहालसँग ठोस कुराकानी गर्ने तयारी गरेको छ ।



















