काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारलगायतका अनियमितताको छानविन गर्दा प्रधानमन्त्रीमाथि नै अनुसन्धान गर्नुपरेपनि गर्नुपर्ने बताएका छन् ।
संसदमा मंगलबार भएको प्रश्नोत्तरमा असिम शाहले सोधेको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री दाहालले सरकार गठन भएदेखि आफूले सुशासनलाई प्राथमिकतामा राखेका कारण राजनीतिक प्रणालीप्रति जनतामा छाएको वितिष्णालाई चिर्न सफल भएको दावी गरेका छन् ।
दबाबरहित निष्पक्ष छानबिन अगाडि बढेको बताउँदै दाहालले दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस् भनेर आफूले अनुसन्धानकर्ताहरुलाई भनेको बताएका छन् । उनले अनुसन्धानका क्रममा आफ्नो पार्टीका नेतालाई त के प्रधानमन्त्री नै आउँछ भने छोड्न आवश्यक नभएको बताएका छन् ।
आफ्नो वा पराइ भनेर विभेद नगरेको भन्दै उनले सबै भ्रष्टाचारमा संलग्नहरुलाई तथ्य र प्रमाणका आधारमा करबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।



















