काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेट, यति, ओम्नीसहितका प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् ।
अध्यक्ष ओलीले सरकार र सत्तारुढ दललाई भ्रष्टहरुको संज्ञा दिँदै आफूमाथि आरोप लगाइएका सबै विषयमा छानबिन गरे उनीहरु आफैँ जेल जाने जिकिर समेत गरे ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गिरीबन्धु टी स्टेटको जग्गा गैरकानूनी रुपमा बिक्री गरी कमिसन खानेहरुले आफूलाई बदनाम गराउने कोशिस गरिरहेको उल्लेख गर्दै त्यसमाथि पनि तत्काल छानबिन गर्न सरकारलाई दबाब दिए ।
ओलीले एमाले नेतृत्वको तत्कालीन सरकारले सो स्टेटको जग्गालाई कानुनी दायरामा ल्याउन कानून निर्माण गरेको तर त्यहाँ कुनै पनि अनियमितता नगरेको बताए ।
एमालेले कुनै पनि प्रकारको गलत काम नगरे पनि बिरोधीहरुले बदनाम गराउने नियतले त्यस्ता खालको आरोप लगाउने गरेको उनले गुनासो समेत गरे । ओलीले ललिता निवास प्रकरणमा एमालेलाई आरोप लगाउनेहरु अहिले आफैँ भागाभागमा परेको जिकिर समेत गरे ।
बाइडबडीबारे छानबिन गरे पनि सरकार र सत्तारुढ दलहरु आफैँ जेल जाने ओलीको भनाई थियो । उनले एमालेले देश बनाउने भिजन लिएको भन्दै सोही उद्देश्य पूरा हुने गरी अघि बढन पार्टीका नेता, कार्यकर्तालाई पनि निर्देशन दिए ।




















