काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले युवाहरु देश छोडेर पलायन हुने क्रम बढेकोमा चिन्ता व्यक्त गर्दै सरकारले युवाहरुलाई स्वदेशमै काम गरेर खाने वातावरण मिलाउनुपर्ने बताएका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेतृ मंगलादेवी सिंहको २७ औं स्मृति दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित माल्यार्पण कार्यक्रममा नेता सिंहले सरकार र सबै राजनीतिक दलहरुले यसबारेमा गम्भीर भएर सोच्नुपर्ने बताएका छन् ।
त्यस्तै उनले तीन तहको सरकारलाई सहज रुपमा सञ्चालन गर्नका लागि आवश्यक कानून बनाउनुपर्ने बताएका छन् । संघले आवश्यक कानूनहरु निर्माण गरे स्थानीय तहले पूर्ण रुपमा आफ्ना काम, कारबाहीहरु अघि बढाउन सक्ने उल्लेख गरेका छन् ।
त्यस्तै नेता सिंहले नेपाल सबैका लागि भएकाले धर्मलाई राजनीतिसँग नजोडिकन सहअस्तित्वमा सद्भाव कायम गरेर अघि बढ्नुपर्ने बताएका छन् ।




















