काठमाडौं । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयनका लागि आज उम्मेदवारी मनोनयन हुँदैछ । प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि संसदीय समितिको नेतृत्व (सभापति) चयन प्रक्रिया अघि बढेको हो ।
१० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरिएको छ ।
समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।
नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाइको छ । राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेको नाममा सहमति भएको बताइएको छ ।
कांग्रेसको भागमा परेका चार सभापतिमध्ये संस्थापन इतरले दुई जना दाबी गरेको थियो । उक्त समूहबाट जीवन परियारमात्रै परेका छन् । दुवै तिरको हुने गरी सन्तोष चालिसेलाई उम्मेदवार बनाएर कांग्रेसले सन्तुलन मिलाएको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रले पूर्वाधार विकास समितिमा माधव सापकोटा, कानून, न्याय तथा मानवअधिकारी समितिमा नुवाकोटकी विमला सुवेदीलाई उम्मेदवार बनाउने भएको छ ।
सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलको सहमति अनुसार माओवादीले दुई समितिको सभापति पाउने सहमति बनेको थियो ।
त्यस्तै नेकपा एमालेले सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेललाई उम्मेदवार बनाउने भएको छ । भागवण्डाअनुसार प्रमुख प्रतिपक्षी नेकपा एमालेले तीन वटा समितिको नेतृत्व पाउने छ । त्यसमध्ये लेखा समितिमा मोरङ २ बाट प्रत्यक्ष निर्वाचित पोखरेललाई उम्मेदवार बनाउने एमालेको तयारी छ ।
महिला बालबालिका तथा सामाजिक मामिला समितिको सभापतिमा भने एमालेले किरण साहलाई उम्मेदवार बनाउने भएको छ । रौतहट २ बाट स्वतन्त्र जितेका उनले एमाले प्रवेश गरेका थिए । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) को सभापतिका लागि विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
त्यस्तै जनमत पार्टीले उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खानलाई उम्मेदवार बनाउने भएको छ ।
यो समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गणेश पराजुलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यता जनता समाजवादी पार्टी (जसपा)ले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा राजकिशोर यादवलाई उम्मेदवार बनाउने भएको छ ।
समितिको नेतृत्व चयन नहुँदा ९ महिनादेखि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै आएको छ ।



















