काठमाडौं । नेपाली कांग्रेसले धरानमा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।
केही दिन यता धरानमा भएको द्वन्द्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्याउन सक्ने विषयप्रति चिन्ता प्रकट गर्दै कांग्रेसले सामाजिक, धार्मिक, राजनीतिक र समग्र सद्भावका लागि सार्वजनिक अपिल गरेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले पनि दख्खल पुर्याउन नहुने बताएका छन् ।
केही दिनयता धरानमा भइरहेको द्वन्द्वका विषयमा सभापति देउवाले चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक र राजनैतिक सद्भावका लागि अपिल गरेका छन् ।
सभापति देउवाले संविधानले सबैलाई आफ्नो धर्म, संस्कृति पालना गर्ने स्वतन्त्रता दिएको र त्यस्तो स्वतन्त्रताको प्रयोग गर्दा अरुको आस्थामा समेत चोट पुर्याउन नपाइने व्यवस्था गरेको स्मरण गराएका छन् ।
धरानमा उत्पन्न परिस्थितिको संवेदनशीलतालाई ख्याल गर्दै सबै राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ/संस्था एवं समाजका अग्रज ब्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा अग्रसर बन्न उनले अपिल गरेका छन् ।




















