काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पार्टी रूपान्तरण र सुधार आफैँबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौँ क्षेत्र नं ३ को क्षेत्रीय भेलामा उनले गाउँ तहदेखि केन्द्रीय तहसम्मका सबै नेतालाई पार्टी रूपान्तरण र सुधारका लागि आफैँबाट सुरु गर्न सुझाव दिए।
उनले आम नेपाली जनता, मतदाता र पार्टी कार्यकर्ताले मन नपराएको तथा नगर भनेको कुरा नगर्दा मात्रै पनि पार्टीमा सुधार देखिने धारणा राखे ।
उनले जनताले औँल्याएका कमी कमजोरी सुधार गरी जाने संकल्प बोकेर काम गरे पार्टी सुधार र रूपान्तरण हुने बताए । पार्टीमा स्थापनाकालमा काम गरेका र नयाँ पुस्ता पनि रहेको भन्दै उनले पार्टीको निर्णय पनि त्यसैअनुसार व्यवस्थापन हुनुपर्ने भनाइ राखे ।
सरकारले सुशासनको अभियानलाई निरन्तरता दिइने बताउँदै उनले भ्रष्टाचार अन्त्य गर्ने र सुशासनका लागि वर्तमान सत्तागठबन्धन बनेकाले सरकार पनि त्यही संकल्पका साथ अघि बढेको जानकारी गराए ।



















