काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार बनेदेखि सुशासन, सामाजिक न्याय र समृद्धिको क्षेत्रमा उल्लेखनीय काम भएको दावी गरेका छन् ।
शुक्रबार वीरगन्जमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यिनै विषय नै सरकारको मुख्य एजेण्डा रहेको बताए ।
प्रधानमन्त्री दाहालले नागरिकता विधेयक, मिटरब्याज पीडित, विद्युत व्यापार ,नक्कली भुटानी शरणार्थी प्रकरण,सुन तस्करी,ललिता निवास प्रकरण, सीमानाकालगायत विभिन्न जनसरोकारका विषयमा उल्लेखनीय काम भएको जिकिर गरे ।
उनले जति राम्रो काम गर्दा पनि आफूले जस नपाउने गरेको समेत बताए । समृद्धिका निम्ति केही ठोस काम सुरू गरिए पनि सरकारले गरेका कामबारे भन्न मानिसहरू डराउने गरेको गुनासो पोखे । माओवादीको अथवा प्रचण्डको हाइट बढ्छ कि भनेर डराउने गरेको हो कि भन्दै प्रश्न समेत गरे ।
उनले गठबन्धनकै नेतृत्वमा देशमा केही राम्रो काम हुने संभावना रहेको उल्लेख गरे । राम्रो कामको थालनी भएकाले एकथरी मानिस आतंकित भएको उनको भनाइ छ । उनले प्रचण्ड नेतृत्वको सरकार ढाल्न गेम भइरहेको भन्दै यसमा आफू रत्तिभर नडराउने बताए ।
प्रधानमन्त्री दाहालले आफू गम्भीर भएर नै तस्करीको ६० किलो सुन बरामद गर्न सफल भएको दावी गरे ।




















