काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई पक्राउ नगरेको भन्दै सरकारको आलोचना गरेका छन् । उनले माधव र बाबुरामलाई पक्राउ गर्न माग गरे ।
बुधबार संसद बैठकमा बोल्दै उनले देशमा दुइटा कानुन बनाउन नपाइने बताए । उनले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले किन माधव नेपाल र बाबुराम भट्टराईलाई पक्राउ नगरेको भन्दै गृहमन्त्रीलाई प्रश्न गरे।
उनले कानुन सबैका लागि बराबर भएको भन्दै नेता र जनतालाई भेद्भाव गर्न नपाइने बताए । ‘ठूला नेतालाई कानुनै नलाग्ने। प्रहरीको हिरासतमा जाँदै नजाने। जनतालाई चाहिँ गल्ती नगरे पनि कान समाए उफरगौडी लगाएर जेलमा हाल्ने काम भइरहेको छ । यस्तो किन हुँदैछ सरकारले जवाफ देओस्,’ उनले भने ।




















