काठमाडौं । सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न सरकार तयार भएपछि संसदको अवरोध खुल्ने भएको छ ।
बुधबार बिहान बसेको शीर्ष नेताको बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आयोग गठन गर्नेबारे शीर्ष नेताबीच सहमति जुटेकाले आजदेखि संसद बैठक खुल्ने बताए।
उनले विभिन्न माध्यमबाट ठूलो परिमाणमा सुन भित्रिरहेको भन्दै जाँचबुझ आयोगले गम्भीरताका साथ अध्ययन गर्ने विश्वास व्यक्त गरे । सरकारले कार्यान्वयन गरेमा मुलुकलाई तस्करीबाट उन्मु्क्त बनाउन सकिने बताए ।
आयोग गठनबारे राष्ट्रिय मान्यता प्राप्त दलहरूबीच आज सहमति जुटेको हो । सहमति पत्रमा असोज ५ गते नेपाल सरकारले आयोग गठन गरी त्यसै दिनदेखि आयोगले कार्य प्रारम्भ गर्ने उल्लेख छ।
उनले सुन प्रकरणको अनुसन्धान हाल सीआईबीले नै गर्ने बताए । भदौ ५ गतेसम्म सीआईबीले छानबिन गरेर प्रतिवेदन बुझाइसक्ने उनको भनाइ छ । सुन प्रकरणमा अनुसन्धान गर्न छानबिन समितिको माग गर्दै एमालेले साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको थियो ।




















