काठमाडौ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छिट्टै ‘नेपाल-जापान संसदीय समूह’ गठन गर्ने बताएका छन् ।
बुधवार बिहान सिंहदरवारमा जापान-नेपाल संसदीयमैत्री समूहका सदस्यद्वय कोबसायी काजुहिरो र नागाई मानाबुसँगको शिष्टाचार भेटमा उनले सो कुरा बताएका हुन् । प्रतिनिधि सभाको निर्वाचनपछि नेपालमा राजनीतिक परिवर्तनको अवस्थाले गति लिएकाले सो समूह गठन गर्न ढिलाई भएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले अब त्यसलाई छिट्टै गठन गरी दुई मुलुकको संसदबीचको सम्बन्धलाई अझ बलियो बनाउन लागिपर्ने बताए ।
सो समूहमा संघीय संसदको दुवै सदनका सांसद सदस्यको रुपमा रहने प्रावधान राखिएको छ । भेटमा जापानिज संसदीय टोलीले नेपालमा सो समूह गठन नभएकोमा चासो व्यक्त गरेपछि अध्यक्ष तिमिल्सिनाले सबै प्रावधानहरु पूरा गरी सो समूह छिट्टै गठन हुने र त्यसले आपसी सम्बन्धलाई अझ बलियो बनाउँदै लैजाने विश्वास व्यक्त गरे । त्यस अवसरमा जापनिज टोलीले दुई मुलुकबीचको सदियौंदेखिको सम्बन्धलाई अझ बलियो बनाउँदै लैजानुपर्ने बताएका थिए ।



















