काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।
विमानस्थलबाट भएको सुन तस्करीको अनुसन्धान गर्न बन्ने उच्चस्तरीय छानविन समितिको मस्यौदालाई आज अन्तिम रूप दिन सिंहदरबारमा नेताहरु जुटेका हुन् ।
सरकारले प्रमुख प्रतिपक्ष दल एमालेको माग अनुसार उच्चस्तरीय छानबिन समिति बनाउने सोमबार सहमति गरेसँगै तीन सदस्यीय कार्यदलले मंगलबार समितिको मस्यौदा तयार पारेको थियो । कार्यदलले तयार पारेको मस्यौदा र समितिको संरचना र कार्यक्षेत्र कस्तो हुने भन्ने विषयलाई आजको शीर्ष नेताको बैठकले टुंग्याउने एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दल एवंम् एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपाका उपसभापति डीपी अर्याल, रक्षा मन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित प्रमुख सचेतकहरु सहभागी छन् ।
प्रमुख सचेतक लेखकले सुन तस्करी अन्त्यका लागि अनुसन्धान गर्न जाँचबुझ ऐन २०२६ बमोजिम आयोग बनाउने र त्यो आयोगले काम सुरू गर्ने दलहरूबीच सहमति भएको बताए । उनका अनुसार कार्यदलले समितिको मस्यौदा तयार गरिसकेको छ ।




















