काठमाडौं । राष्ट्रिय मान्यता प्राप्त दलहरुको वैठक ११ बजे बस्ने भएको छ । शीर्ष नेताहरुको बैठकले सुन तस्करी सम्बन्धमा छानविन गर्न छुट्टै उच्च स्तरीय समिति गठनका लागि कार्यदलले तयार पारेको मस्यौदालाई अन्तिम रुप दिने बताइएको छ ।
सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको हिजोको बैठक स्थगित भएको थियो । हिजो दिउँसो २ बजे बानेश्वरस्थित संसद भवनमा तोकिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल सुर्खेतमै रोकिएले सरेको थियो भने साँझको वैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थताका कारण अनुपस्थित भएपछि बैठक आजसम्मलार्इ स्थगित भएको थियो ।
राष्ट्रिय मान्यताप्राप्त दलहरुको सोमबार बसेको संयुक्त बैठकमा सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको थियो । सो समितिको संरचना र कार्यक्षेत्रको प्रस्ताव तयार पार्न नेकपा एमालेका सुवास नेम्वाङ, नेपाली कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेसहितको कार्यदल पनि गठन गरिएको थियो ।
कार्यदलले तयार पारेको उच्चस्तरीय छानबिन समितिको संरचना र कार्यक्षेत्रको मस्यौदाका बारेमा शीर्ष नेताहरुको बैठकमा पेस गर्नका लागि शीर्ष नेताको बैठक बोलाइएको थियो ।
उच्च स्तरीय समिति गठनको माग गर्दै साउन १० देखि निरन्तर संसद् बैठक अवरुद्ध पारिरहेको एमाले संसद् खुलाउन लगभग सहमत भइसकेको छ । तर आजको सर्वदलीय बैठकपछि आजै दिउँसोका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अघि बढ्ने वा नबढ्ने निश्चित हुनेछ ।



















