काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।
सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पार्टीको सांगठनिक गतिविधि र मुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बसेको देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।
बैठकमा केन्द्रीय समितिको निर्णय अनुसार साउन २० गतेदेखि ३० गतेसम्म सञ्चालन भएको पार्टी संगठन सुदृढीकरण अभियानको समीक्षा गर्नेछ ।
यसैगरी सरकारले प्रमुख प्रतिपक्ष दल एमालेको माग अनुसार बनाउन लागेको उच्चस्तरीय छानबिन समितिको बारेमा पनि छलफल हुने बताइएको छ । उच्चस्तरीय छानबिन समितिको संरचना र कार्यक्षेत्र कस्तो हुने भन्ने विषयको मस्यौदालाई आज दिउँसो बस्ने शीर्ष नेताको बैठकले टुंग्याउनेछ । शीर्ष नेताको बैठक अगाडि कांग्रेसको पदाधिकारी बैठक बसेको हो ।
सोमबार बेलुका सिंहदरबारमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा कार्यादेश (टिओआर) तय गर्न नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेको कार्यदल गठन गरिएको छ ।



















