काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा आज विहान बस्यो । बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भएको बताइएको छ ।
यसैगरी उक्त बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा सभाको मिति घोषणा गरेको छ ।
बैठकले ८ गते वीरगञ्ज, १२ गते बुटवल, १३ गते धनगढीमा, १४ गते सुर्खेत, १५ गते पोखरा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सभा गर्ने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिएका छन् ।
मोर्चा बनाउनुको कारण र यसका कामबारे जनतालाई जानकारी दिने उद्देश्यले सभा गर्न लागिएको सभालाई ‘सन्देश सभा’ नाम दिएको बताइएको छ ।
मोर्चाको बैठकले सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थनसमेत गरेको नेता हमालले जानकारी दिएका छन् ।
सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए । मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।



















