काठमाडौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भोलि विश्वासको मत लिने भएका छन् ।
१६ साउनमा नियुक्त भएका मुख्यमन्त्री थापाले विश्वासको मत लिन शुक्रवार प्रदेशसभा सचिवलाई सूचना दिएका थिए । उपसभामुख सिर्जना दनुवारले विश्वासको मतको प्रस्ताव प्रदेशसभामा सोमवार दिउँसो १ बजे छलफलका लागि समय तोकेकी छन् ।
९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनमा ४७ जना सांसद छन्, जुन ट्वाक्क मात्र हो । ४७ जना सांसद पुर्याउनकै लागि सत्ता गठबन्धनका थापाले माओवादी केन्द्रबाट सभामुख भएका बाबुराम गौतमलाई राजीनामा दिन लगाएर मुख्यमन्त्रीको दावी पेश गरेका थिए ।
त्यतिमात्र होइन मुख्यमन्त्री थापाले एमालेबाट उपसभामुख बनेकी उपसभामुख दनुवारले सभा सञ्चालन नगरिदिने आशंका राख्दै ज्येष्ठ सदस्य गयानन्द मण्डललाई समेत कोशी प्रदेश सरकारको राज्यमन्त्री नियुक्त गरेका छन् ।
९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपाका एक गरी ४७ सांसद छन् । उपसभामुखसहित एमालेका ४० र राप्रपाका छ गरी ४६ सांसद प्रतिपक्षमा छन् ।
उपसभामुख दनुवारले प्रदेशसभाको अध्यक्षता गरिदिएमा मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त हुन्छ । अन्यथा ज्येष्ठ सदस्यले प्रदेश सभाको अध्यक्षता गर्ने व्यवस्थाअनुसार अरू प्रक्रिया अघि बढ्नेछन् । यस्तो अवस्थामा विपक्षी दलहरू एमाले र राप्रपाको सहयोगविना विश्वासको मत लिन चुनौतीपूर्ण हुनेछ ।
उपसभामुख दनुवार बैठकमा अनुपस्थित रहेको खण्डमा प्रदेशसभा बैठकको सञ्चालन अध्यक्ष मण्डलका जेष्ठ सदस्यले गर्नुपर्ने हुन्छ । उक्त मण्डलका पनि एमाले प्रदेशसभा सदस्य मालती सुब्बा र राप्रपाका अम्बरबहादुर विष्ट अनुपस्थित भएमा सत्ता गठबन्धन संकटमा पर्नेछ ।
प्रदेशसभा बैठकअघि भोलि विहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री थापाले आउँदो १३ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने छ ।
प्रदेश सभा सचिवालयका अनुसार एमाले र राप्रपाका ज्येष्ठ सांसदहरुले आइतबारै सचिवालयमा बिदा मागेका छन् ।
प्रदेश सभा सचिवालयका अनुसार सोमबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिने सांसदहरुमा एमालेका रोहितबहादुर कार्की (७१), मालतीकुमारी लिम्बू (६७), रामप्रसाद महतो (६७), तारादेवी ढकाल (६६), खड्गबहादुर बस्नेत (६७), किशोरचन्द्र दुलाल (६५) र ज्ञानेन्द्र सुवेदी (६४) ले भोलिको बैठकमा अनुपस्थित हुने सूचना प्रदेशसभा दिएको बताइएको छ ।
मुख्यमन्त्री थापालाई विश्वासको मत लिनबाट रोक्ने योजना अनुसार प्रतिपक्ष दलका सांसद प्रदेशसभामा अनुपस्थित हुने सम्भावना रहेको छ । भोलि सत्ता गठबन्धनका प्रदेशसभा सदस्यले बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था आए बैठक नै रोक्न सक्ने स्रोतको दाबी छ ।
प्रदेशसभामा सभामुख र उपसभामुख नहुँदा जेष्ठ सदस्यले बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । जसका कारण थापालाई विश्वासको मत प्राप्त गर्न कठिन हुन्छ ।




















