झापा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई हानी पु-याउने भ्रष्टाचारसहितका सबै किसिमका प्रकरणका फाइल खुल्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले वर्तमान सरकारले विभिन्न समयका भ्रष्टाचारलगायत प्रकरणका फाइल खोलेर छानबिनको प्रक्रिया सुरु गरेकामा केही आशा जगाएको बताए । सबै ती फाइल खोलेर अनुसन्धानको प्रक्रियालाई तीव्रता दिनुपर्नेमा उनले जोड दिए ।
केही दल आगामी आम निर्वाचनमा जित हारको मात्र चिन्ता गरेर बसेको उल्लेख गर्दै उनले त्यो चिन्ता पार्टीको मात्र स्वार्थ भएकाले अवसर प्राप्तिका लागि सरकार अघि बढ्नुपर्ने उल्लेख गरे ।
महामन्त्री थापाले देशमा छाएको निराशाको मौका छोपी केही नयाँ दलले व्यापार गर्न थालेका टिप्पणी गरे । कांग्रेसका नेता तथा कार्यकर्ता चुनावका लागि मात्र नभएर जनताको परिवर्तनका निम्ति सक्रिय भई जुट्नुपर्ने उनले उल्लेख गरे ।
पार्टी नगर सभापति अशोक बस्नेतको अध्यक्षतामा भएको उक्त सम्मेलनमा कांग्रेस झापाका सभापति देउकुमार थेवेलगायत नेताले आ–आफ्नो धारणा राखेका थिए ।




















