काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन राजनीतिक दलहरुबीच सहमति गर्नु बाहेकको विकल्प नरहेको बताएका छन् ।
आईतवार संसदको अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संसदको अवरोध हट्ने कुरा सुन तस्करीको छानबिन गर्नको लागि उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा अड्किएको बताए ।
उनले प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति बनाउन सरकारलाई आदेश नदिएको आरोप लगाएको बताए । उनले दलहरुको बीचमा समझदारीको वातावरण बन्न सके संसद अवरोध हट्ने बताए ।
सभामुख घिमिरेले संसदको अवरोध हटाउनका लागि आफूले दलका नेताहरुसँग बसेर छलफल गरिरहेको बताए ।




















