काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाइ समितिमा छलफल भएको छ ।
आइतबार बिहान सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरूबीच श्रेष्ठविरुद्ध परेका उजुरीबारे सामान्य छलफल भएको हो ।
श्रेष्ठविरुद्ध तीवटा उजुरी परेका र उजुरीकर्तालाई भोलि छलफलका लागि बोलाउने निर्णय भएको समिति सदस्य जीवन परियारले बताए ।
उनका अनुसार प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध ३ वटा उजुरी परेका छन्। उजुरीकर्तालाई भोलि छलफलका लागि बिहान १०:३० बजे बोलाउने निर्णय भएको छ । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि भोलि नै संसदीय सुनुवाइ हुनेछ ।
संसद सचिवालयका अनुसार दुईवटा इमेलबाट उजुरी परेका छन् भने एसके तिमिल्सेनाले भौतिकरूपमै उपस्थित भएर उजुरी दिएका छन् ।
यसअघि साउन २३ गते बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो । साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
संसदीय सुनुवाइबाट अनुमोदन भएपछि श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरिनेछ ।



















