काठमाडौं । संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरेले राखेको दलका प्रमुख सचेतक र सचेतकहरूसँगको बैठक निष्कर्षविहीन भएको छ । बैठकमा सत्ता र प्रमुख प्रतिपक्ष दुवैले आफ्नो अडान नछाड्दा बैठकमा कुरा नमिलेको बताइएको छ ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने, ‘अहिले सत्तापक्ष र प्रतिपक्षको अडान उही छ। अझै प्रतिपक्षले हामी बलियोसँग उभिन्छौँ भन्ने अडान राखेको छ। अब यहाँ कुरा मिल्न सकेन। अब प्रधानमन्त्रीले डाक्नुभएको बैठकमा कुरा मिल्ला कि भन्ने अपेक्षा छ ।’
बैठकमा आफूले दुवैतर्फको अडानले संसद्लाई बन्दी बनाउँदा राम्रो नगरेको बैठकमा राखेको परियारले बताएका छन् ।
बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक र प्रमुख सचेतक सहभागी थिए ।
प्रतिनिधिसभा बैठक आजै दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले संसद् अवरोध गर्दै आएको छ । सरकार समिति गठनको पक्षमा नहुँदा अझै कुरा मिल्न नसकेपछि प्रधानमन्त्रीले पनि बैठक राखेका छन् ।
बैठकमा सहभागी एमालेका प्रमुख सचेतक पदम गिरीले साउन ३ गते बरामद भएको ६० केजी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म अघि बढ्न नसकिने बताए ।
उनले यति लामो समयसम्म सदन बन्धक बनाउन नहुने पनि बताए । एमालेले उठाएको जायज माग सुन्न सरकार तयार भए सदन नरोकिने उनले बताएका छन् ।



















