काठमाडौँ । आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १५ अन्नपूर्ण चोकस्थित मूल सडकखण्डमा आज बिहान साढे ७ बजे बालाजुबाट कलंकीतर्फ आउँदै गरेको ना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशा जाँदै गरेको बागमती प्रदेश ०२–०३७ प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
दुर्घटनामा सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका अन्दाजी ३२ वर्षीया अनिता थापा र नामथर वतन नखुलेको अन्दाजी ३२ वर्षका पुरुषको मृत्यु भएको र अन्दाजी १० वर्षकी बालिका घाइते भएको परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिएका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते अवस्थामा त्रिवि शिक्षण अस्पताल लगिएका उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
टाउकोमा चोट लागेको बालिकाको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परेका गोर्खा दरौँदी यातयात सेवा कम्पनी प्रालिको बसका चालक धादिङको गंगाजमुना गाउँपालिका–७ घर भएका ४१ वर्षीय दानबहादुर थापालाई काठमाडौं जिल्ला प्रहरी परिसरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएको छ।



















