कास्की । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार, सदन र सडक तीनवटै मोर्चाको संयोजनबाट समाजवाद निर्माणको आधार तयार गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आज पोखरामा सम्बोधन गर्दै पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका गृहमन्त्री श्रेष्ठले सङ्घ, प्रदेश र स्थानीय तह तीनै तहका सरकारको मोर्चा नै अहिले मुख्य रहेको र सदन सहयोगी रहेको उल्लेख गरे । उनले नेपाली जनताको जीवनमा तात्कालिक आवश्यकता पूरा गरेर नयाँ जीवन दिनुपर्नेमा जोड दिए ।
राष्ट्रिय एकता सुदृढ गर्नु, हालसम्मका उपलब्धि र संविधानको रक्षा गर्नु, संविधानलाई माध्यम र साधन बनाउँदै सामाजिक, आर्थिक रुपान्तरण गरी विकास र समृद्धिको यात्रा तीव्र बनाउनु देशको मुख्य कार्यभार रहेको उनले बताए ।
वर्तमान सरकारले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी कामलाई छिटो टुङ्गोमा पुर्याउन चाहेको श्रेष्ठले बताए ।
पार्टीले आगामी भदौ १६ देखि सञ्चालन गर्ने तीनमहिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’लाई गण्डकी प्रदेशमा प्रभावकारी बनाउने गरी लाग्न यस प्रदेशका नेता–कार्यकर्तालाई उनले निर्देशनसमेत दिए । अभियानका क्रममा नयाँ सदस्यता वितरण, सङ्गठन सुदृढीकरण, सङ्गठन पुनःगठन र विस्तारको कामलाई व्यवस्थित गर्न वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आग्रह गरे ।



















