काठमाडौं । सदनको अवरोधलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेभित्रै असन्तुष्टि देखिएको छ । पार्टी उपाध्यक्ष सुवास नेम्बाङले शनिबार काभ्रेको धुलिखेल पुगेर आफ्नो असन्तुष्टि सार्वजनिक गरेका हुन्।
संसद् सचिवालयले गरेको ‘संसद् र सञ्चार सम्बन्ध’ विषयक अन्तर्क्रियामा नेम्बाङले सदन अवरुद्ध गर्नु संविधानविपरीत भएको बताए। आफ्नै दल एमालेले साउन १० देखि सदन अवरुद्ध गर्दै आएको पृष्ठभूमिमा उनले संविधान र नियमले संसद्मा अवरोध गर्न नदिएको बताए ।
उनले भने, ‘संसद् अवरोध नियमसंगत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन।’
नेम्बाङ एमालेका संसदीय दलका उपनेता समेत हुन्। एमालेले गर्दै आएको अवरोधमा उनी आफैं सहभागी हुने गरेका छन्। ‘अवरोध राजनीतिकरुपमा गरिने हुनाले यसको पुनःपुष्टि गर्ने जिम्मेवारी सम्बन्धित दलको हो’, नेम्बाङले भने ।
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पनि सदनमा पछिल्लो समय भइरहेको अवरोधको विरोध गरे। ‘सदन अवरुद्ध मलाई मन परेको छैन, अवरोध रोकेर संवाद गरौँ। अहिले भइरहेको अभ्यासले संसदीय पद्धतिको विकासमा सहयोग गर्दैन’, उनले भने । (रासस)



















