काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै संकटमा पर्ने बताएका छन् ।
शनिवार काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर १, क्षेत्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले २०४६ को परिवर्तन आएकोमा खुशी नभएका तत्वहरु अहिले पनि समाजमा विद्यमान रहेको उल्लेख गर्दै काँग्रेस मजबुत भएमात्रै लोकतन्त्र बलियो हुने बताए ।
उनले पार्टीलाई विधि अनुसार चलाउन अघि बढ्नुपर्ने बताए । नेता सिंहले काँग्रेसको संगठन पनि राम्रो र बलियो बनाउँदै राजनीतिक हिसावले दिनसक्ने सकारात्मक म्यासेज नागरिकहरुमा बाँड्नुपर्ने बताए ।
नेता सिंहले काँग्रेस अहिले पनि कमजोर नरहेको जिकिर गरे । उनले काँग्रेसमा केही सुधार गर्नुपर्ने अवस्था आएको भन्दै समयको माग अनुसार सुधार गरेर पार्टी अघि बढ्ने बताए ।




















