काठमाडौं । आज कोशी र गण्डकी प्रदेशमा भारी वर्ष हुने र तराईमा हावाहुरीको समेत सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान कतै घाम, कतै बादल लागे पनि बिस्तारै बादल बढ्दै गएर दिउँसोतिर पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशको पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । साथै गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।
यस्तै राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।



















