इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चर्चित तीन काण्डका फायल खोलिनुपर्ने बताएका छन् । उनले एयरपोर्टबाट भित्रिएका सुन काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड सहित ललिता निवास प्रकरण जस्ता बिषयको छानबिन गरिनुपर्ने बताए ।
सभापति लामिछानेले यी बिषयको फाईल खुलेर अनुसन्धान भएमा देशमा औँलाले गन्न सकिने बाहेक नेता नरहने उद्घोष गरे ।
बिहिबार इलामको फिक्कल चोक बजारमा आयोजित पार्टीको खुल्ला जनसभालाई सम्बोधन गर्दै उनले आफुहरु जनजीविकाका पक्षमा काम गर्न आएकाले एकपटक अवसर दिएर मौका दिन आग्रह समेत गरे ।
सिद्धान्त मन परेमा रास्वपासँग सम्झौता गर्न रविको आग्रह थियो । लामिछानेले घुमाउरो शैलीमा भोट फकाउँदै २०८४ मा हुने आम निर्वाचनमा इलामका जनताले रास्वपाका उम्मेद्वारलाई जिताएर परिवर्तनको घण्टी बजाउनुपर्ने बताए ।
सूर्योदय नगर समितिले आयोजना गरेको खुल्ला जन सभामा पार्टी सभापति लामिछाने, नेता रमेश प्रसाईँ लगायतले मन्तब्य राखेका थिए ।



















