दोरम्बा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा रहेका विकृति र वेथिति अन्त्यको नेतृत्व पनि माओवादी केन्द्रले लिने बताएका छन् ।
बिहिबार नेकपा (माओवादी केन्द्र) दोरम्बा शैलुङ गाउँपालिकाले आयोजना गरेको २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धान्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
देशको व्यवस्थामा परिर्वतन ल्याउँने आन्दोलन, स्वाधिनता र अखण्डताका पक्षमा लडेको माओवादी केन्द्रलाई पछिल्लो समय जनताको जीवनमा परिर्वतन ल्याउनेबारे कार्यशैलीगत अन्योल रहेकोमा त्यो बाटो पहिल्याएको उनले बताए । अब माओवादी जनतासँग जोडिने घरघरमा माओवादी, जनजनमा माओवादी अभियान चलाउने उनको भनाइ थियो ।
निर्वाचनका बेला व्यवस्था बदल्यौं, अब अवस्था बदल्छौं भनेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले यसअघि व्यवस्था बदल्न के गर्ने भन्नेमा अल्मलिने गरेको भए पनि अब भने बाटो पहिल्याएको बताए ।
सरकारले सुशासनका पक्षमा गरेका काम र पार्टीले चलाएको जनतासँग माओवादी रुपान्तरण अभियानलाई जोडेर माओवादी र जनताबीचको सम्बन्ध नङ र मासुको जस्तै बनाइने उनको भनाई छ ।
जनयुद्धको नेतृत्वकर्ताको हैसियतले आफुले माओवादी जनयुद्ध, जनयुद्धका घाइते अपाङ्ग शहिद बेपत्तालाई सम्मान गर्ने नै गरेको बताउँदै प्रधानमन्त्री बनिसकेपछि जनयुद्ध र परिर्वतनका विभिन्न आन्दोलनमा शहिद बनेका माओवादी सेना, नेपाली सेना , प्रहरी र सबैलाई समान व्यवहार गर्दै राष्ट्रिय शहिद घोषणा गरेको उनले बताए । साथै, जनयुद्धलाई अमर बनाउँने फागुन १ गते (जनयुद्ध दिवस)लाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरिएको प्रधानमन्त्रीले बताए ।
शहिद परिवारलाई परिपूरण गर्ने ऐन ल्याएर शहिद, बेपत्ता परिवारलाई नयाँ जीवन दिइने कार्यको गृहकार्यमा रहेको उनले बताए ।
प्रधानमन्त्रीले सरकार सुशासनसँगै समृद्धिको यात्रामा रहेको बताए।
हिजो अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममार्फत ४० देखि ५० लाख अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोडेर समाजवादको भु्ण रोपेको उनले बताए । यो अभियानले जनतामा समानता र सबै नागरिकको भविष्य सुनिश्चित गर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले सुशासन र समृद्धिको यो अभियानमा सरकारलाई साथ दिन सबैलाई आग्रह समेत गरेका छन् ।



















