काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठक प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले बहिस्कार गरेको छ ।
समिति सभापति चयन नगरिएको भन्दै एमालेले लेखा समितिको बिहीबार १ बजेका लागि बोलाइएको बैठक बहिष्कार गरेको हो ।
यसअघिकै बैठकमा एमालेको तर्फबाट सांसद योगेश भट्टराईले नेतृत्व चयन नभएसम्म आफूहरु नआउन सक्ने बताएका थिए । सोही अनुसार आज बोलाइएको बैठकमा आफूहरु जाँदै नगएको एमालेका सांसद भट्टराई बताए ।
एमाले अनुपस्थित हुँदा समिति बैठक बस्ने सम्भावना छैन । बैठक बस्नका लागि २६ सदस्यमध्ये १४ जना उपस्थित हुनुपर्ने हुन्छ ।
एमालेले समितिको यसअघिको बैठकमा नै सभापति चयन नभएसम्म बैठकमा नआउने जानकारी गराएको थियो । समितिको अध्यक्षता ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले गर्दै आएका थिए ।
लेखा समितिका सदस्य तथा एमालेका सांसद गोकुल बाँस्कोटाले सत्तारूढ गठबन्धनभित्र संसदीय समिति सभापतिको भागबन्डा नमिलेकाले समस्या आएको बताए ।
सत्ता गठबन्धनमा समिति सभापतिहरूको भागबन्डा नमिलेका कारण संसदीय समितिहरू पंगु बनाउने काम भएको उनले आरोप लगाए ।
यसअघि नेपाली कांग्रेसलाई ४, प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई ३, नेकपा माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समिति दिनेगरी सहमति बनिसकेको छ ।




















