कैलाली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुनकाण्ड बारे उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म एमालेको बिरोध रहिरहने बताएका छन् ।
एमाले कैलालीद्वारा आयोजित अगुवा कार्यक्रता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सरकार आफैँ सुन प्रकरणमा संलग्न भएको पुष्टि हुन लागेका कारण उच्चस्तरीय छानबिन आवश्यक छैन भनिरहेको आरोप लगाएका छन् ।
महासचिव पोखरेलले सरकारको नेतृत्व कर्ता माओवादी केन्द्र र नेपाली काँग्रेसका नेताहरुसमेत सुन प्रकरणमा फस्ने देखिएपछि सरकार उच्चस्तरीय छानबिन समिति बनाउन अनिच्छुक रहेको दावी गरे ।
नेकपा एमालेसहितका दलहरु र देशभरी नै उच्चस्तरीय छानबिनको आवाज उठिरहँदा समेत सरकार उच्च स्तरिय छानबिन समिति बनाउन अनिच्छुक देखिदाँ आफै यस प्रकरणमा संलग्न रहेको पुष्टि हुने पोखरेलको भनाई थियो ।
सरकारमा रहेका र तिनका नेताहरुलाई जोगाउन सरकार अनेक प्रपञ्च रचिरहेको पोखरेलले बताए । उच्च स्तरिय छानबिनको आवाज उठाउँदा बिभिन्न आरोप लगाउँदै एमालेलाई कमजोर पारेर सरकार सुन काण्डबाट जोगिन खोजिरहेको उनले बताए । जबसम्म सुनकाण्डको छानबिनका लागि उच्चस्तरिय छानबिन समिति गठन हुँदैन तबसम्म एमालेको संसद अवरोधसंगै सघंर्षका कार्यक्रम जारी रहने महासचिव पोखरेलले बताए ।
पोखरेलले देशमा देखिएको आर्थिक संकट युक्रेन/रसिया युद्धको कुनै प्रभाव नरहेको दावी गरे । युक्रेन/रसियासंग नेपालको ब्यापार नभएको अवस्थामा त्यहाँको युद्धले अर्थतन्त्रमा कुनै प्रभाव नपार्ने उनको भनाई छ । बर्तमान गठबन्धन सरकारकै कारण देशमा आर्थिक संकट देखिएको उनले बताए ।
बर्तमान सरकारले माफिया र तस्करहरुलाई पोस्ने काम गरिरहेका कारण आर्थिक संकट सुधार हुन नसकेको उनले बताए । चोर बाटोबाट बिदेशी सामान भित्र्याउन तस्करहरुसंग सरकार नै मिलेका कारण राजश्वमा ठुलो गिरावट आएर आर्थिक संकट सिर्जना भएको पोखरेलले बताए ।
महासचिव पोखरेलले देशको आर्थिक संकट हटाएर समृद्धि ल्याउने पार्टी एमाले मात्रै भएका कारण २०८४ मा एकल सरकार बनाउने गरी लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । एमालेले सरकार चलाएका बेला र अहिलेको देशको स्थिती बारे जनताले राम्रोसंग बुझ्न जरुरी रहेको उनको भनाई थियो । एमाले जनताका मुद्धा उठाएर सदन र सडकमा जाने बताउँदै पोखरेलले २०८४ मा एकल सरकार चलाउने दावी गरे ।




















