काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले आफूलाई गैरन्यायिक तरिकाले पक्राउ गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले माफी माग्नुपर्ने बताएका छन् । उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामासमेत माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले माफी नमागे, गृहमन्त्रीले राजीनामा नदिए आफू आमरण अनशन बस्ने बताए । उनले गृहमन्त्रीको राजीनामा निशर्त रहेको बताए ।
उनले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले अनधिकृत रूपमा आफूलाई पक्राउ गरेको भन्दै उनले आपत्ति जनाए ।
प्रधानमन्त्री र गृहमन्त्रीलाई आतंककारी भनेपछि माओवादीले आपत्ति जनाएको थियो । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले आतंककारी शब्द रेकर्डबाट हटाउन माग गरेका थिए । तर सभामुख देवराज घिमिरेले प्रतिवादमात्र आएको भन्दै संसदलाई अगाडि बढाएका थिए ।




















