काठमाडौं । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले नेकपा(माओवादी केन्द्र)को भदौ १६ गतेदेखि शुरु हुने ३ महिने अभियान पार्टीको लागि अन्तिम परीक्षा भएको बताएका छन् ।
बुधवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘प्रवक्ता–पत्रकार बिच भेटघाट’ कार्यक्रममा बोल्दै प्रवक्ता सापकोटाले पार्टीले आयोजना गर्ने ३ महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताए ।
उनले भदौ १६ गतेदेखि ‘जनतासँग माओवादी –शिशेष रुपान्तरण अभियान’ शुरु हुने र सो दिन देशभरका ६ हजार ७४३ वटा वडामै एकसाथ उद्घाटन हुने बताए । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालले सातवटा प्रदेशका सात वटा वडा जिम्मा लिने र अन्य सबै नेताहरुले समेत वडा जिम्मा लिने भन्दै उनले सबै नेताहरु परीक्षामा सामेल हुने बताए ।
उनले यो अभियान पार्टीको अन्तिम परीक्षाजस्तो भएको भन्दै आफूहरु सामुहिक रुपमा उत्तिर्ण हुने विश्वास व्यक्त गरे ।
प्रवक्ता सापकोटाले सुन तस्करी प्रकरणलाई निस्कर्षमा पु-याउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिवद्ध रहेको बताए । उनले ठिक ढंगले अनुसन्धान गर्नका लागि सिआइबिलाई अनुसन्धान गर्न जिम्मेवारी दिइएको उल्लेख गरे ।
उनले अनुसन्धान प्रक्रियामा कुनै प्रकारको मोलाहिजा नहुने भन्दै अनुसन्धान प्रक्रिया निर्धक्कका साथ अगाडि बढ्ने स्पष्ट पारे । तथ्य र प्रमाणले दोषी देखिएकाहरुलाई कारबाही गर्न पार्टीमा समेत एकमत रहेको उनले उल्लेख गरे ।
प्रवक्ता सापकोटाले जनता महंगिको मारमा परेको भएपनि महंगी नियन्त्रणमा सरकारको पहलकदमी पुग्न नसकेको बताए । उनले बजार अनुगमन गरी बद्मासी गर्नेहरुलाई कारबाही गर्नुपर्नेमा जोड दिए । उनले जनताले खेप्नु परेको महंगिको मारको सम्बन्धमा पार्टीको आगामी पदाधिकारी बैठकमा आफूले कुरा उठाउने पनि बताए ।
उनले देशका युवाहरु विदेशिने कुरा राष्ट्रियतासँग पनि गाँसिएको भन्दै हुनेखाने र पुगिसरी आएकाहरु नै विदेशिएका बताए । उनले युवाहरु विदेशिने खतराको विषय भउको भन्दै यो विषयलाई राष्ट्रले प्राथमिक एजेण्डा बनाउनुपर्ने बताए ।
उनले भ्रष्टाचार नियन्त्रण गर्ने, गरिबी निवारण गर्ने र रोजगारी सिर्जना गरी जनताको जीवनस्तर उठाउने कुरामा ध्यान पु-याएर समाजवाद स्थापनाको आधार तयार पार्नुपर्ने बताए ।



















