काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सदनमा देखिएको अवरोध हटाउन सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले लगातार अवरुद्ध भइरहेको सदन सञ्चालन गर्नका लागि सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको माओवादी मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिएका छन् ।
मुख्य सचेतक पाण्डेले सदनलाई सञ्चालन गर्न विभिन्न तहमा छलफल र संवाद भइरहेको उल्लेख गरेका थिए । बैठकमा दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र नेपाली जनताको भावनालाई समेटेर सुशासन, समृद्धि र सामाजिक न्यायसहितको रुपान्तरणका साथ अगाडि बढ्नका लागि र सङ्घीय संसद्को भूमिका अझ वृद्धि गर्न सांसदलाई निर्देशन दिएका छन् ।
उनले भर्खरै सम्पन्न केन्द्रीय समितिले लिएका निर्णय व्यवहारमा कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिएको पाण्डेले बताए ।
त्यस्तै संसदीय समितिको नेतृत्व चयनका लागि पनि अन्य दलसंग छलफल गर्ने निर्णय भएको उनले बताए ।

















