काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहको ७७ औँ जन्मोत्सवमा उनको आरोग्य र चिरायुको लागि शुभकामना दिन निर्मल निवास पुगेका राजावादी निराश बनेर फर्केका छन्।
असार २३ गते विहानैदेखि पंक्तिबद्ध भएका शुभेच्छुकहरुलाई सुरक्षाकर्मीहरुले “सरकार यहाँ होइबक्सन्न, कहाँ सवारी भयो हामीलाई जानकारी छैन ” भनेपछि उनीहरू निराश भएको बताइएको छ।
चितवनबाट आएर हिजोदेखि होटलमन बसेका सदानन्द चौधरी भन्छन् , ” हामीलाई पहिले नै जानकारी भएको भए आउने थिएनौं तर यो त सचिवहरुको कमजोरी हो। ”
बुढानिलकण्ठभन्दा तीन किलोमिटर टाढाको बाटो हिँडेर आएकी बिष्णुमाया तामाङ भन्छिन् , ” यहाँ आउँदा राजालाई भेट्न पाइँदैन भन्छ । अब कहाँ खोज्न जाऊँ?”
आस्था, विश्वास र माया गरेर पूर्व राजाप्रति शुभकामना व्यक्त गर्न चाहने हजारौं राजावादी र पूर्वराजाबीच दुरी बढाउने काम गर्नेहरुले ज्ञानेन्द्र शाहकै प्रियपात्रको भेषमा जासुसी गरिरहेकाले सतर्क हुनुपर्ने केही राजावादीको आरोप छ ।
उता पूर्वराजा ज्ञानेन्द्र शाह भने जन्मदिन मनाउन ललितपुर र भक्तपुरको सीमानामा पर्ने लाँकुरिभञ्ज्याङस्थित टेरेसेस होटल पुगेका छन् ।
बिहीबार उनी परिवारसहित सो होटल पुगेको सुरक्षा स्रोतले जानकारी दिएको छ । उनी त्यहाँ तीन दिन रहने गरी बुकिङ गरिएको हो ।

उनी बिहीबारबाट ७६ वर्ष पूरा गरी ७७ वर्षमा प्रवेश गरेका छन् । ज्ञानेन्द्र शाह २००४ साल असार २३ गते जन्मिएका थिए । उनी राजा महेन्द्रका माहिला छोरा हुन्।
वि.सं. २०५८ जेठ १९ गते नारायणहिटी दरवार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंश नास भएपछि वीरेन्द्रका भाइ ज्ञानेन्द्र राजा बनेका थिए ।
ज्ञानेन्द्र परिवार बसेको उक्त होटल काठमाडौं उपत्यकालाई दृश्यावलोकन गर्न सबैभन्दा उत्कृष्ट स्थानको रुपमा पछिल्लो चरण लिन थालिएको छ ।




















