
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित ईन्द्रावती खोलामा बेलीवृज निर्माण गरिएको छ ।
करिव दुई बर्ष अघिको बाढीका कारण बगाएको पुलको स्थानमा निर्माण गरिएको बेलीवृजको शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेत र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका हुन ।
कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले मेलम्ची बजारदेखि ईन्द्रावती नगरपालिका, पाँचपोखरी गाउँपालिका र जिल्ला सदरमुकाम जोड्ने बेलीवृज निर्माणमा सवैको सहयोग प्राप्त भएको बताएका छन् । उनले जनताको सेवामा वर्तमान सरकार प्रविद्धत रहेको र अहिले आफुले पनि पैसा नभएर उपचार गर्न नपाएका नागरिकलाई निशुल्क रुपमा उपचार गर्ने व्यवस्था मिलाएको बताए । उनले सम्झौता अनुसार गरिव विरामीको उपचार नगरे निजि अस्पतालको लाइसेन्स समेत खारेज गर्ने चेतावनी दिएका छन् ।
त्यस्तै प्रधानसेनापति शर्माले जनताको दुःखसुखमा नेपाली सेना सदैव क्रियाशिल हुने बताएका छन् । विपतीको भरोषेदार सारथीको साथै मुलुकको जटिल समस्यामा जनतासंग मिलेर समाधान गर्ने तर्फ प्रतिवद्ध रहेको उनले बताए ।
गत जेष्ठ २१ गते नेपाली सेनालाई जिम्मेवारी दिएर सो स्थानमा बेलीवृज निर्माण गरिएको हो । नवनिर्मित बेलीवृजको लम्बाई ६७.७० मिटर, चौडाई ४.२ मिटर तथा अधिकतम भारवहन क्षमता १८ टन रहेको छ ।



















