काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले प्राकृतिक चिकित्सा पद्धतिलाई सवै मिलेर विकास गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले प्राकृतिक चिकित्सालाई प्रवद्र्धन गर्न मन्त्रालय प्रतिबद्ध रहेको भन्दै यसमा सरोकारवाला सवैले हातेमालो गर्नुपर्ने बताएका छन् ।
मन्त्री बस्नेतले यस बर्ष स्वास्थ्य क्षेत्रमा केहि बजेट कटौती भएको भन्दै भएका बजेटबाट पनि सवैले औचित्य पुष्टि हुने गरि काम गर्नुपर्नेमा जोड दिएका छन् । मन्त्री बस्नेतले प्राकृतिक चिकित्सा पद्धतिलाई विकास सके आर्थिक लाभ, पर्यटन प्रवद्र्धन लगायतका बहुआयामिक फाइदा रहेको बताएका छन् । उनले बर्षको एकदिन राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाएर मात्रै नहुने भन्दै यस क्षेत्रको थप बिकासका लागि बर्षदिन नै क्रियाशिल हुनुपर्ने धारणा राखेका छन् ।
कार्यक्रममा आयुर्वेद तथा चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले प्राकृतिक चिकित्साको विकासका लागि प्रयाप्त बजेटको आवश्यकता रहेको बताएका छन् ।



















