काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही सोमबार दिएको एक विवादित अभिव्यक्तिले राजनीति वृत्तमा चर्चा पाएको छ भने कूटनीतिक वृत्त चकित परेको हुनुपर्छ ।
प्रधानमन्त्री प्रचण्डले सोमबार काठमाडौंमा भएको लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’ (द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल) को विमोचन समारोहमा दिएको विवादित अभिव्यक्तिलाई लिएर एमाले आक्रोशित भएको छ ।
एमालेको बुधबार बसेको संसदीय दलको आकष्मिक बैठकले प्रधानमन्त्री दाहालको अभिव्यक्ति देशको स्वाभिमान र सार्वभौम सत्ताविरुद्ध भएको भन्दै आपत्ति जनाएको छ । एमालेले पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदमा बसिरहने हैसियत गुमाएको निष्कर्ष निकालेको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै एमाले सचेतक महेश बर्तौलाले असार १८ गते प्रधानमन्त्री दाहाल दिएको अभिव्यक्तिविरुद्ध संसद् अवरोधसम्मको आन्दोलन गर्ने निष्कर्ष निकालेको बताएका छन् ।
‘दाहालले आफूलाई प्रधानमन्त्री संसदले बनाएको नभइ दिल्लीले बनाएको भनेर बोलेका छन् । आजको हाम्रो बैठकको सार निर्णय भनेको प्रधानमन्त्रीले संसद् र सार्वभौमसत्तामाथि गरेको आक्रमणको प्रतिरोध हो, हामीले यो विषय संसद्मा जोडदार रुपमा राख्ने छौँ । जनताले निर्वाचित गरेको प्रधानमन्त्री त हामीले बनाएको होइन, कहीँ कतैबाट बनाइएको भनेका छन् ।’
उनले यो विषय सामान्य नभएको बताउँदै उनले अहिले नै संसद् बैठक अवरुद्ध गर्ने योजना नभईपनि बैठकमा अवरोध भने गरिने बताएका छन् । बर्तौलाले भनेका छन् ‘कोही मान्छे प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको थियो भनेर के स्थापित गर्न खोजिएको हो ? यो सामान्य विषय होइन, यसलाई हामीले हाउसमा कडा ढंगबाट उठाउँछौँ।’
त्यस्तै राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेका छन् । आजको बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची थियो । वैठक सुरु हुने वित्तिकै एमाले सांसद देवेन्द्र दाहालले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको गरिमामा आँच पुर्याएको भन्दै प्रधानमन्त्रीले जवाफ नदिँदासम्म बैठक सञ्चालन हुन नदिने बताएका थिए । एमालेको अवरुरोधका कारण वैठक स्थगि भएको छ ।
प्रधानमन्त्री दाहालको सो अभिव्यक्तिको मंगलबार राष्ट्रियसभामा पनि विरोध भएको थियो । राष्ट्रियसभाको मंगलबारको बैठकको शुन्य समयमा इन्दिरादेवी गौतमले आफुलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह धेरैपटक दिल्ली गएको भन्ने अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा आँच आउने भन्दै प्रधानमन्त्री दाहालले बैठकमा आएर जवाफ दिनुपर्ने माग गरेकी थिइन् ।
उक्त पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहको प्रशंसा गर्दै उनले आफूलाई प्रधानमन्त्री बनाइदिन पटक पटक दिल्ली धाएको, यहाँका पार्टी, नेताकहाँ गएको बताएका थिए ।
आफूलाई प्रधानमन्त्री बनाउन सरदार सिंहले दिल्ली र नेपाल कयौँ पटक राजनीतिक दौडधूप गरेको स्मरण गर्दै भनेका थिए –
“यातायात, सामाजिक सेवा, शिक्षाको क्षेत्रमा मात्रै होइन उहाँ (सरदार प्रितम सिंह) राजनीतिमा पनि रुची राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटी दिल्ली जानुपनि भयो, काठमाडौँका पार्टीहरुलाई, नेताहरुसँग पनि उहाँ लगातार छलफल गर्नुभयो । उहाँ राजनीति सफा भयो भने मात्रै देश विकास राम्रो हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ । म शान्ति प्रक्रियामा आएदेखि नै निरन्तर अन्तरक्रिया, सहकार्य हुने गर्यो । म शान्ति प्रक्रियामा आएदेखि नै धेरै नजिकबाट संगत गरेको छु। हुन त यहाँ हाम्रो कमरेड पम्फा भुसाल हुनु हुन्छ, उहाँको अलिकति नजिकै भएर भएका हुनाले पनि लगातार अन्तरक्रिया र सहकार्य हुने भएको छ । हामीले नजिकबाट एकअर्कालाई चिन्न बुझ्ने र महसुस गर्ने पनि गर्यौँ ।”