काठमाडौँ । राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन । राष्ट्रिय स्वाभिमानमा आँच आउने अभिव्यक्ति दिएको भन्दै उनले प्रधानमन्त्री दाहालको जवाफ माग गरेकी छिन् ।
राष्ट्रियसभाको मंगलबारको बैठकको शुन्य समयमा गौतमले आफुलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह धेरैपटक दिल्ली गएको भन्ने अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा आँच आउने भन्दै प्रधानमन्त्री दाहालले बैठकमा आएर जवाफ दिनुपर्ने माग गरेकी हुन ।
उनले प्रधानमन्त्री दाहालको अभिव्यक्ति स्वतन्त्र, सार्वभौमसम्पन्न स्वाभिमानी नेपालीका लागि गम्भीर आपत्तिजनक रहेको धारणा राखेकी छिन् ।
मुलुकको स्वतन्त्रता र सार्वभौमिकतालाई जोगाउन धेरै नेपालीहरुले जीवन आहुती दिएको कुरा प्रधानमन्त्रीले बुझ्नुपर्ने उनले बताएकी छिन । उनले प्रधानमन्त्रीले सदनमार्फत आफ्ना भनाई फिर्ता लिनुपर्ने उल्लेख गरेकी छिन् ।
उनले भनिन्, ‘हिजो एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति स्वतन्त्र, सार्वभौमसम्पन्न स्वाभिमानि नेपालीका लागि गम्भीर आपत्तिजनक छ। हिजो उहाँले मलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली जानुभएको भनेर कोही व्यक्ति विशेषलाई उहाँले इंकित गर्दै भन्नुभएको छ। प्रधानमन्त्रीले बुझ्नुपर्छ यो मुलुकको स्वतन्त्रता र सार्वभौमिकतालाई जोगाउन धेरै देशभक्त नेपालीले आफ्नो रगत बगाएका छन् । जीवनको आहुति दिएका छन् । प्रधानमन्त्रीको कुर्सिमा बसेर यस किसिमका राष्ट्रिय स्वाभिमानमा आँच पुर्याउने अभिव्यक्ति दिन उहाँलाई कदापी छुट दिन सकिँदैन । म यस विषयमा प्रधानमन्त्रीले सदन समक्ष आएर स्पष्ट पार्न र आफ्ना भनाई फिर्ता लिन अनुरोध गर्दछु ।’
प्रधानमन्त्री दाहालले सोमबार भारतीय व्यवसायी प्रितम सिंहको ८८ औं जन्मदिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन उनी धेरै चोटी दिल्ली गएको बताएका थिए ।
भारतीय राजदूत नवीन श्रीवास्तवसहित सहभागी सो कार्यक्रममा लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’ (द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल) को विमोचन गरिएको थियो ।
सो अवसरमा प्रधानमन्त्री दाहालले भनेका थिए – “यातायात, सामाजिक सेवा, शिक्षाको क्षेत्रमा मात्रै होइन उहाँ (सरदार प्रितम सिंह) राजनीतिमा पनि रुची राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटी दिल्ली जानुपनि भयो, काठमाडौँका पार्टीहरुलाई, नेताहरुसँग पनि उहाँ लगातार छलफल गर्नुभयो । उहाँ राजनीति सफा भयो भने मात्रै देश विकास राम्रो हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ । म शान्ति प्रक्रियामा आएदेखि नै निरन्तर अन्तरक्रिया, सहकार्य हुने गर्यो । म शान्ति प्रक्रियामा आएदेखि नै धेरै नजिकबाट संगत गरेको छु। हुन त यहाँ हाम्रो कमरेड पम्फा भुसाल हुनु हुन्छ, उहाँको अलिकति नजिकै भएर भएका हुनाले पनि लगातार अन्तरक्रिया र सहकार्य हुने भएको छ । हामीले नजिकबाट एकअर्कालाई चिन्न बुझ्ने र महसुस गर्ने पनि गर्यौँ ।”