काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट सार्वजनिक गरेको छ ।
आइतबार महानगरको नगर सभामार्फत काठमाडौंमा उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुनिता डङ्गोलले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेकी हुन ।
महानगरको बजेटमा चालु तर्फ रु आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ रु १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रहेको छ । आगामी आवको बजेटमा स्वास्थ्य, शिक्षालाई र पूर्वाधारलाई प्राथमिताकता दिइएको डङ्गोलले जानकारी दिएका छन् । उनले पूर्वाधार क्षेत्रमा रु सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार, शिक्षामा एक अर्ब ३२ करोड र स्वास्थ्यमा रु ९२ करोड ६६ लाख ४४ हजार बजेट विनियोजन गरिएको बताएका छन् । उनले सरल र सुलभ रुपमा स्वास्थ्य सेवा दिने र सहुलियत दरमा औषधी उपलव्ध गराउन योजना तर्जुमा गरिएको बताएकी छिन् । उनले वडा समितिको काम कतव्र्य र अधिकारलाई अझ प्रभावकारी बनाउन केहि कार्यक्रम वडा बाटै सञ्चालन गर्न दुई अर्वभन्दा बढि बिनियोजन गरिएको जानकारी दिएका छन् ।
विपद व्यवस्थापन सम्बन्धी कार्यक्रम र आवश्यक उपकरण खरिद गर्न ३ करोड भन्दा बढि बिनियोजन गरिएको उनले बताएकी छिन् ।
त्यस्तै महानगरकी उपप्रमुख डङ्गोलले वातावरणमैत्री, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धनलाई आगामी बर्षको बजेटमा प्राथमिकताका राखेर अघि बढाइने बताएकी छिन् ।
बजेटमा ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ योजनाका लागि ५० करोड र ‘रोजगारी र आय वृद्धि महानगरको समृद्धि’ कार्यक्रमका लागि रु १० करोड बिनियोजन गरिएको छ । रोजगारी वृद्धिका लागि बेरोजगार र रोजगारदाताबीच ‘जब लिङ्क एप’ प्रयोगमा ल्याउने बजेटमा उल्लेख छ ।
साथै ‘मेरो रहर, हरित सहर’ कार्यक्रमका लागि रु ५० करोड बजेट बिनियोजन गरिएको छ । उक्त कार्यक्रम अन्तर्गत महानगर क्षेत्रको पार्क, आइल्याण्डको निर्माण, मर्मत, संरक्षण र वृक्षारोपणसम्बन्धी काम गरिनेछ । महानगरले महानगर टेलिभिजन स्थापनाका लागि रु ५ करोड छुट्याएको छ । महानगरका मुख्य सडक, चोक एवं गल्लीमा समेत ‘सर्भिलेन्स क्यामरा’ जडान गरी महानगरवासीलाई सुरक्षित परिवेशमा बस्न योग्य शहर बनाउने उद्देश्यले ‘महानगरले देख्न’ योजनालाई गौरवको कार्यक्रममा समावेश गरिएको छ । यसका लागि रु २० करोड बजेट बिनियोजन गरिएको छ ।
महानगरपालिका क्षेत्रमा भित्रिने तरकारी एवं फलफूलको विषादी परीक्षणका लागि विषादी परीक्षण प्रयोगशाला स्थापनाका लागि रु एक करोड ५० लाख बजेट बिनियोजन गरिएको छ ।




















