काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका र सामाजिक शिक्षण विभागको संयुक्त प्राविधिक सहयोगमा बुढानीलकण्ठ नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुलाई ५ दिने ब्लेन्डेड आधारभूत आइसिटी तालिम दिइएको छ ।
नगरभित्रका शिक्षकहरुलाई आइसिटी शिक्षा दिने उद्देश्यले असार ५ गतेदेखि ९ गतेसम्म दिइएको सो ब्लेन्डेड आधारभूत आइसिटी तालिममा नगरपालिकाभरिका सामुदायिक र संस्थागत विद्यालयका ५० जना शिक्षकहरुको सहभागिता रहेको थियो । नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयलाई डिजिटलाइज बनाउने उद्देश्यले पहिलो चरणमा आधारभूत तहको तालिम शिक्षकहरुलाई दिएको जनाइएको छ ।

असार ५ गते नगरपालिकाको सभाहलमा भौतिकरुपमा उपस्थित भई उद्घाटन भएको सो तालिम कार्यक्रम असार ६, ७ र ८ गते बेलुका ८ बजेबाट १० बजेसम्म गुगल मिटका माध्यमबाट (अनलाइन) सञ्चालन गरिएको थियो । यसैगरी असार ९ गते नगरपालिकाकै सभाहलमा भौतिक रुपमा उपस्थित भई भव्यरुपमा तालिम कार्यक्रम समापन गरियो ।

सो तालिम समापन समारोहमा नगरपालिका शिक्षा महाशाखाका प्रमुख ललितविक्रम सिंहले मन्तव्य राख्दै नगरपालिकाका सबै विद्यालयका शिक्षकहरुलाई समयअनुसारको प्रविधिसँग खेल्न र विश्वमा विकास भएका नयाँ-नयाँ शैक्षिक विधि र प्रविधिमा सबै शिक्षक अभ्यस्त हुनुपर्ने बताए । उनले आगामी दिनमा अन्य शिक्षकहरुलाई पनि आवश्यकताअनुसारको तालिम दिँदै जाने विश्वास दिलाउँदै नगरभित्रका सम्पूर्ण विद्यालय डिजिटल बनाउने नगरपालिकाको भावी लक्ष्य रहेको जानकारी दिए । साथै उनले नगरभित्रका सम्पूर्ण विद्यालयहरुलाई देशकै शैक्षिक हवका रुपमा विकसित गरिने बताए ।
सो समापन कार्यक्रममा ५ दिने तालिमका सहभागी शिक्षकहरुलाई महाशाखा प्रमुख ललितविक्रम सिंहले प्रमाणपत्र प्रदान गरेका थिए ।




















