काठमाडौँ । नेकपा एमाले नागार्जुन नगर कमिटीले नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सो पत्र १५ पेज लामो रहेको नगर कमिटीले जानकारी दिएको छ ।
सो ध्यानाकर्षण पत्रमा नगरको समस्त विकासका साथै आसन्न नगर अधिवेशनबाट गर्नैपर्ने विकास निर्माण, स्वास्थ्य, शिक्षा,रोजगार, पर्यटन, सुरक्षा, सुशासन, कर्मचारीको ब्यवस्थापन, भ्रष्टाचार शून्य नीति, नगरबस, नगर रिङ्गरोड, खानेपानी, सडकबत्ती, स्वास्थ्य चौकी, सूचना र प्रविधिको प्रयोग (नगर एप) व्यक्तिगत घटना दर्ता, सार्बजनिक जग्गा संरक्षण, राजनीतिक दल र नगरपालिकाको समन्वय जस्ता विषय समेटिएको नगर कमिटीले जानकारी दिएको छ ।
नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य भगवानराज घले, काठमाडौ जिल्ला कमिटी सचिवालयमा सदस्य सपना अर्याल, नागार्जुन नगर कमिटी अध्यक्ष नन्दन हरि गौतम, उपाध्यक्ष श्यामराजा गिरी, सचिव गोवर्धन केसी, नगर कमिटीका अन्य पदाधिकारीहरु, वडा कमिटी पदाधिकारी, नगरपालिकामा बसोबास गर्ने स्थानीयबासीको उपस्थितिमा सो ध्यानाकर्षण पत्र नगरप्रमुख बस्नेत समक्ष बुझाइएको हो ।
नगर प्रमुख मोहनबहादुर बस्नेतले सो ध्यानाकर्षण पत्र बुझ्दै स्रोत र साधनले धान्ने गरी नगरको विकासका लागि सबै पक्षहरुको राय सल्लाहलाई समेट्न कोसिस गर्ने बताए ।
नेकपा एमाले नगर कमिटी अध्यक्ष नन्दनहरि गौतमले नगरपालिकाले मनोमानी ढङ्गबाट बजेट बनाएर खर्च गरे आन्दोलन गर्ने चेतावनी दिए । उनले नगर विकासको ठोस आधार देखिने बजेट आउनुपर्ने बताए । उनले नगरपालिकाको आगामी कार्यक्रम र आउँदो बजेटबाट थप आन्दोलनको कार्यक्रम घोषण गर्ने कि नगर्ने भन्ने कुराको निर्णय गर्ने बताए ।






















