काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा १२ बजे सुरु हुने बैठकमा यही असार १० गतेदेखि १२ गतेसम्म हुने विधान अधिवेशनको विषयमा छलफल हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
प्रचार विभाग प्रमुख बस्नेतका अनुसार आगामी विधान अधिवेशनको तयारीको सन्दर्भमा बस्न लागेको बैठकमा विभिन्न समिति र संगठनबाट गरी ७७८ जना प्रतिनिधिहरु विधान अधिवेशनमा सहभागी हुनेछन्, जसमध्ये ४२३ जना केन्द्रीय समिति सदस्यहरु छन् । केन्द्रीय सदस्यहरु विधान अधिवेशन आयोजक भएकाले उनीहरु स्वतः विधान अधिवेशनका प्रतिनिधि हुनेछन् ।
विधान अधिवेशन सुरु हुनुभन्दा एक दिन अगाडि अर्थात असार ९ गते जसपाले राजनीतिक समिति र केन्द्रीय समितिको बैठक बोलाएको छ ।
सो बैठकका कार्यसूची आजको कार्यकारिणी समितिको बैठकले तय गर्ने प्रचार विभाग प्रमुख बस्नेतले बताएका छन् ।
बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले जसपा समाजवादी मोर्चामा सहभागी भएको विषयमा नेताहरुलाई ब्रिफिङसमेत गर्ने बताइएको छ ।