काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एमालेमा जान दोस्रो वरीयता चाहिने सर्त राखेका छन् ।
आइतबार च्यासलस्थित एमाले मुख्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा उनले आफू एमालेमा फर्किन तयार रहेको र यसका लागि दोस्रो वरीयता दिनुपर्ने सर्त राखेका हुन् ।
अध्यक्षपछिको दोस्रो वरीयता दिएमा आफू एमालेमा फर्किन तयार रहेको नेता गौतमले अध्यक्ष ओलीलाई जानकारी गराए ।
आफूलाई दोस्रो वरीयताको भूमिका दिएमा पार्टी एकताका लागि काम गर्ने बताएका गौतमलाई अध्यक्ष ओलीले आफू सकारात्मक रहेको र यसबारे नेताहरुसँग छलफल गरेर निर्णय लिने जवाफ दिएका छन् ।
एमालेमा अहिले अध्यक्ष ओलीपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दोस्रो वरीयतामा रहेका छन् ।
साथै एमालेले ६० लाख भोट कटाउन आफू लागि पर्ने र त्यो जिम्मेवारी दिन गौतमले ओलीसँग आग्रह समेत गरेका छन् । साथै नेता गौतमले नेकपा एकता राष्ट्रिय अभियान पार्टीलाई एमालेमा समाहित गर्न आफू तयार रहेको बताए ।



















