काठमाडौं । समाजवादी मोर्चा घोषणाको अन्तिम तयारीमा दलहरु जुटेका छन् ।
मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपा सहभागी हुने गरी छलफल भइरहेको छ । आइतबार बिहान समाजवादी मोर्चाबारे छलफल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रबहादुर चन्द विप्लब लगायतका नेताहरुबीच बालुवाटारमा छलफल भइरहेको माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन् ।
उनीहरुबीचको छलफल पश्चात समाजवादी मोर्चा मोडालिटी, आगामी रणनीति र घोषणालाई अन्तिम रुप दिइने एक नेताले जानकारी दिए।
चार दलका शीर्ष नेता छलफलमा जुट्नु अगाडि दोस्रो तहका नेताहरुबीच पनि बिहान छलफल भएको हो । कार्यदलले मोर्चाको अवधारणापत्रको मस्यौदा तयार पारेको छ । यसलाई अन्तिम रूप दिन आज बैठक बोलाइएको हो।
समाजवादी मोर्चा बने २७५ सदस्यीय प्रतिनिधिसभामा ५४ सिटसहित तेस्रो निर्णायक शक्ति निर्माण हुनेछ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी मोर्चामा सहभागी हुने नहुने टुंगो लागेको छैन । आजको बैठकमा भट्टराई सहभागी छैनन् ।



















