सिन्धुली । सिन्धुलीमा घाँटीमा लिचीको दाना अड्किएर बालकको मृत्यु भएको छ ।
कमलामाई नगरपालिका–६ धुराबजारका ३ वर्षीय क्रियान तामाङको घाँटीमा गएराति लिचीको दाना अड्किएर मृत्यु भएको हो ।
लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले लिचीको दाना अड्किएर बालकको मृत्यु भएको जानकारी अस्पतालबाट प्राप्त भएको बताए ।
यसैबीच सुनकोशी गाउँपालिका–२ गजुलीदहस्थित सुनकोसी किनारमा एक बालकको शव फेला परेको छ। बिहीबार साँझ बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिएका छन् ।
सुनकोसी–२ गजुलीदहस्थित सुनकोशी नदीको किनारमा नाम ठेगाना खुल्न नसकेको अवस्थामा अन्दाजी ९ वर्षको बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।



















