काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नागरिकता विधेयकको विरोध गर्नेहरू आत्मदाह दुरुत्साहनको भागिदार रहेको बताएको छ। पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता प्राप्तिमा अवरोध गर्नेहरू आत्महत्या र आत्मदाह दुरुत्साहनको भागिदार रहेको उल्लेख गरेका छन् ।
नागरिकता नपाएपछि मोरङका निरज कामतले गत मंगलबार माइतीघर मण्डलामा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । ‘नागरिकता नागरिकको प्रथम अधिकार हो । नागरिकका सन्तानले नागरिकता नपाएको पीडामा आत्मदाहको प्रयास गर्नुपर्ने कस्तो राज्य? कस्तो लोकतन्त्र कल्पना गरेका रहेछौं? नागरिकता माग्दै माइतीघरको सडकमा संघर्षरत घाइते निरज कुमार कामतको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । अहिलेसम्म जसजसले नागरिकता प्राप्तिको प्रक्रियामा अवरोध गरे, वास्तवमा ती सबै आत्महत्या/आत्मदाह दुरुत्साहनका भागिदार हुन् । यो सामान्य घटना होइन, यो परिघटनाले राज्य विश्वस्तरमा कलंकित भएको छ,’ विज्ञप्तिमा भनिएको छ।



















