काठमाडौं । बृहत् शैक्षिक मेला ‘आठौं कान्तिपुर हिसान एडुफेयर –२०२३” यही जेष्ठ ३२ गतेदेखि असार ३ गतेसम्म सञ्चालन हुँदैछ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लि. को संयुक्त आयोजनामा “उत्कृष्ट शिक्षा नेपाली” भन्ने नाराका साथ अयोजित एडुफेयर भृकुटीमण्डप, प्रर्दशनीहलमा संचालन हुने आयोजकले बताएका छन् ।
नेपालमै संचालित शिक्षालयहरुले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्य, तथ्य र यथार्थ जानकारी गराउने र विद्यार्थी तथा अभिभावकहरुलाई नेपालमै पनि उत्कृष्ट शिक्षा पाइन्छ भन्ने विषयमा विविध परामर्श दिने उद्देश्यले विगत ७ वर्षदेखि शैक्षिक मेला आयोजना गर्दै आएको हिसानका महासचिव लोकबहादुर भण्डारीले बताएका छन् ।
चार दिनसम्म चल्ने यो शैक्षिक मेलाले नेपालमा संचालित शिक्षालयहरुले दिने गुणस्तरीय र उत्कृष्ट शिक्षाका बारेमा उचित जानकारी एवं परामर्श नहुँदा, कुन विषय किन पढ्ने विषयको छनोट कसरी गर्ने भन्ने कुरामा अन्यौलता हुँदा कतिपय विद्यार्थी तथा अभिभावकहरुको विदेश मोहका कारणले शिक्षा प्राप्तिकै लागि ठूलो धनराशी विदेशिएको वर्तमान समयमा यस्ता समस्याबाट मुक्त हुन र ठुलो धनराशि विदेश जानबाट जोगाउन तथा विद्यार्थी, अभिभावक र शिक्षा क्षेत्रसँग सम्बन्धित ब्यक्तिहरुलाई एकै छानामुनि गुणस्तरीय शिक्षाका बारेमा विस्तृत जानकारी दिने उद्देश्यले शैक्षिक मेला उपयोगी हुने विश्वास गरिएको हिसानका उपाध्यक्ष तथा एडुफेयर २०२३ का संयोजक टंकराज आचार्यले बताएका छन् ।

प्लस २ देखि उच्चस्तरको शिक्षा हासिल गर्ने विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको शैक्षिक मेलामा विद्यालय शिक्षादेखि विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिई विभिन्न कार्यक्रम संचालन गर्दै आएका शैक्षिक संस्थाहरु तथा प्राविधिक एवं उच्च प्राविधिक कार्यक्रम संचालन गरेका संस्थाहरुका साथै त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सि.टि.ई. भि. टि.) को सम्वन्धनमा संचालित ७५ बढि शैक्षिक संस्थाको सहभागिता रहने बताइएको छ ।
विद्यार्थीहरुलाई नेपाली शिक्षालयप्रति आकर्षित गर्ने तथा विविध परामर्श दिइने यस शैक्षिक मेलामा विभिन्न तहमा अध्ययनरत विद्यार्थी, अभिभावक तथा शिक्षासँग सरोकार राख्नेहरु गरी २ लाख वढीले अवलोकन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएका छन् ।
मेलामा विभिन्न संस्थाहरुका प्रस्तुतिका साथै विज्ञहरुको सहभागितामा शिक्षा तथा प्रविधि लगायत विविध शैक्षिक जानकारीमूलक तथा विषयगत सेमिनारहरु समेत आयोजना गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
कान्तिपुर हिसान एडुफेयर – २०२३ को टाइटल प्रायोजकको रुपमा माई सेकेन्ड टिचर तथा मुख्य प्रायोजकहरुमा गोल्डेनगेट ईन्टरनेशनल कलेज, काठमाण्डौं वल्र्ड स्कूल, युनिग्लोब कलेज, ग्लोबल कलेज, इस्लिङ्टन कलेज रहेका छन् भने प्रायोजकहरूमा पाठशाला नेपाल, डिएभी कलेज, किष्ट कलेज, लिटिल एञ्जेल्स कलेज, टेक्सास कलेज, एल आर आई स्कूल, सि.सि आर.सि कलेज, नोवेल एकेडेमी, साउथ वोस्टर्न स्टेट कलेज, ट्रिनिटी ईन्टरनेशनल कलेज, भि.एस. निकेतन कलेज, जेभिएर ईन्टरनेशनल कलेज, संस्कृति प्लस टु र बृटिश अमेरिकन एडुफेयर रहेका छन् ।
मेलामा विद्यार्थी अभिभावक तथा इच्छुकहरुको हितको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने १ हजारभन्दा बढि विद्यार्थीको लागि पूर्ण तथा आंशिक छात्रवृत्तिको समेत व्यवस्था गरिएको बताइएको छ ।
स्वदेशी शिक्षाको बारेमा अन्योलमा रहेका विद्यार्थीलाई जानकारी र सूचना दिने उद्देश्यले मेला आयोजना गरिएको वताउँदै पब्लिकेसन्सका सीईओ महेश स्वाँरले कहाँ पढ्ने, कस्तो शैक्षिक संस्था चयन गर्ने, के विषय रोज्ने मेलाको अवलोकन गरेपछि विद्यार्थी अभिभावकले छान्न सक्ने बताएका छन् ।

त्यस्तै हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले नेपालका शिक्षण संस्थाहरुले उत्कृष्ट र गुणस्तरीय शिक्षा दिन सक्छन् भन्ने मेलाबाट प्रष्ट हुने बताएका छन् । विदेशमा पढ्न जाने लहर रोक्न र विदेशमा जत्तिकै शिक्षा यहाँ पनि पाइन्छ है भनेर सचेतना दिन मेला सार्थक हुने शर्माले बताएका छन् ।
अनलाइन मार्फत लाइभ गरि उपत्यका बाहिर रहेका विद्यार्थी तथा अभिभावकहरुलाई नेपालमै पनि उत्कृष्ट शिक्षा दिने शैक्षिक संस्थाहरु छन् भन्ने बिषयमा सन्देश प्रवाह गरीने पनि बताइको छ । यस मेलामा विद्यार्थी, अभिभावकहरु र आम शुभचिन्तकहरुको उपस्थितिले नेपालमै संचालित प्रतिष्ठित शैक्षिक संस्थाहरुको मनोवल बढाई अझ उच्च स्तरको शैक्षिक संस्था निर्माण गर्न र संस्थाहरुको हौसला बढाउन महत्वपूर्ण भूमिका खेल्नेमा आयोजकहरुले विश्वास व्यक्त गरेका छन् ।
नेपालको शिक्षा क्षेत्रमा विशेष महत्व राख्ने कान्तिपुर हिसान एडुफेयर शैक्षिक मेलाको यही जेष्ठ ३२ गते बिहीबार विहान १० बजे सभामुख देवराज घिमिरेबाट समुद्घाटन हुने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।




















