जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आकस्मिक रुपमा विश्वासको मत लिन लागेका छन् ।
त्यसका लागि आज मंगलबार साँझ ५ बजेको लागि आकस्मिक रुपमा प्रेदशसभाका बैठक डाकिएको प्रदेशसभा सचिवालका सचिव रञ्जित यादवले जाकारी दिए ।
सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र पुनः विश्वासको मत लिनु पर्न कानुनी व्यवस्था छ। पुस २७ गते मधेश प्रदेशसभाको ठूलो दल नेकपा एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्री सरोजकुमार यादव नियुक्त भएका थिए ।
समीकरण फेरिएपछि चैत २१ मा मधेश सरकारबाट बाहिरिएको एमाले जेठ १ गते समर्थन फिर्ता लिएको थियो । यस अनुसार भोलिसम्मा जसरी पनि सरकारले प्रदेशसभाबाट पुनः विश्वासको मत लिनु पर्ने हुन्छ । तर, विश्वासको मत लिन मधेश सरकारले कुनै चासो देखाएको थिएन ।
३० दिन बित्दा अदालतमा सरकारविरुद्ध रिट परेर कानुनी अड्चन आउन सक्ने देखेपछि मुख्यमन्त्री यादवले आकस्मिक रुपमा विश्वासको मत लिन लागेका हुन्। प्रदेशसभा सचिवालयले सांसदहरुलाई मोबाइलमा एसएमएस पठाएर साँझ ५ बजे बैठक डाकिएको जानकारी गराएको छ ।
प्रदेश सभामा एमालेका २३, कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९/९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक-एक जना सांसद छन् । यस्तै ३ जना स्वतन्त्र सांसद छन् ।



















