
काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नंवर २९ मा रहेको सरकारी जग्गा खाली गराएको छ । वडा नंवर २९ को वडा कार्यालय बनाउने भन्दै महानगरले डोजर लगाएर सरकारी जग्गा खाली गराएको हो । महानगरको उक्त कदमप्रति भने स्थानीयहरुले विरोध जनाएका छन् । सामाजिक विकास समाजद्वारा संरक्षित सो जग्गामा पार्क तथा खेल मैदान थियो ।
सिंहदरवार पूर्वीगेट अगाडि धोवीखोला नजिकै रहेको सरकारी जग्गालाई अतिक्रमण हुनबाट रोकेर संरक्षण गर्दै स्थानीयले खेल्ने ठाँउ बनाएको स्थानमा महानगरले जवरजस्ती हस्तक्षेप गरेको उनीहरुको भनाइ छ । उनीहरुले सोही स्थान नजिकै रहेको अन्य दुईवटा सरकारी जग्गामा वडा कार्यालय बनाउन सुझाव दिएका थिए । तर वडा नंवर २९ ले भने स्थानीयहरुले खेल्ने स्थानमा नै कार्यालय बनाउने भन्दै महानगरीय प्रहरीलाई वल प्रयोग गर्न लगाएर खाली गराएको छ ।
वडा कार्यालय बनाउनका लागि सरकारी जग्गा खाली गराएको काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताएका छन् । केही व्यक्तिले कव्जा गरेर बसेको सार्वजनिक जग्गामा डोजर लगाएको बताएपनि सो जग्गा केही व्यक्तिले नभई महानगरपालिकाकै सहयोगमा समाजले पार्क तथा खेल मैदान बनाएको थियो ।
वडा कार्यालय निर्माण गर्ने बिषयमा यसअघि कांग्रेस क्षेत्र नंवर १ का सांसद प्रकाशमान सिंह सहित बसेको सर्वपक्षिय छलफल पनि निष्कर्षबिहीन भएको थियो ।





















